logo बुधबार, भाद्र १७ २०८३ | Wednesday 2nd September 2026

 सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

 



काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै उक्त विशेष सुविधा ल्याएको हो ।

अब खाडी मुलुकका संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमान लगायातबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क नलाग्ने भएको छ। त्यसैगरी एसिया–प्रशान्त क्षेत्रका जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियाबाट पनि निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध हुनेछ।

युरोपका बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्समा रहेका नेपालीले समेत यो सुविधाको लाभ लिन सक्नेछन्। ओसनिया क्षेत्रमा रहेको न्युजिल्यान्डबाट नेपाल पैसा पठाउँदा पनि सेवा शुल्क लाग्ने छैन। विश्वभर फैलिएका सिटी एक्सप्रेस तथा यसका अन्य अन्तर्राष्ट्रिय च्यानलमार्फत पनि यो निःशुल्क सुविधा लागू गरिएको छ। यसबाट धेरै मुलुकमा रहेका नेपालीले नेपालमा रहेका आफ्ना परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई आर्थिक सहयोग पठाउन सहज हुने अपेक्षा गरिएको छ।

यो सुविधा तत्काल प्रभावकारी रूपमा लागू गरिएको कम्पनीले जनाएको छ। सिटी एक्सप्रेसले विदेशमा रहेका नेपालीलाई विपद्को यस कठिन समयमा आफ्ना परिवार र प्रभावित समुदायलाई सहयोग गर्न उक्त सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ। बिगत २० वर्षदेखि संसारभरबाट सहज, सुरक्षित र भरपर्दो रूपमा रेमिट्यान्स सेवा पुर्‍याउँदै आएको सिटी एक्सप्रेस नेपालको प्रमुख रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend