logo बुधबार, भाद्र १७ २०८३ | Wednesday 2nd September 2026

सन्दीपको घातक बलिङ, ५ विकेटसँगै बहराइन ८७ रनमै अलआउट


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

काठमाडौं। कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा बहराइनलाई ८७ रनमै अलआउट गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन नेपाली बलरसामु टिक्न नसक्दा ३६.२ ओभरमा ८७ रनमै समेटिएको हो।



नेपालका लागि कप्तान सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १४ रन मात्र खर्चिएर ५ विकेट लिए। उनको स्पिनसामु बहराइनका ब्याटरहरू लगातार दबाबमा परे। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएपछि बहराइनको इनिङ्स ८७ रनमै रोकियो।

बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। सन्दीपले १४औं ओभरबाट बलिङ सुरु गरेका थिए। आफ्नो पहिलो ओभरकै पहिलो बलमा विकेट लिएका उनले चौथो बलमा अर्को विकेट झार्दै बहराइनको इनिङ्समा सुरुदेखि नै दबाब सिर्जना गरे।

त्यसपछि पनि उनले लगातार प्रभावशाली बलिङलाई निरन्तरता दिए। पाँचौं ओभरमा थप एक विकेट लिएका सन्दीपले सातौं र आठौं ओभरमा एक–एक विकेट थप्दै पाँच विकेट पूरा गरे। सन्दीपको किफायती र प्रभावशाली बलिङ तथा ललित र करणको सहयोगमा नेपालले बहराइनमाथि बलियो पकड बनाएको हो। अब नेपालले ८८ रनको सामान्य लक्ष्य पछ्याउँदै प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्य राखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend