logo बुधबार, भाद्र १७ २०८३ | Wednesday 2nd September 2026

हेडसरको दुई मिनेटको निर्णयले जोगियो १,६०० विद्यार्थीको ज्यान, नुवाकोटमा बाढीले १७ विद्यालय प्रभावित


  • जन आकाश
  • बुधबार, भाद्र १७ २०८३

काठमाडौं । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटका विद्यालयहरू नराम्ररी प्रभावित भएका छन्। बाढीका कारण जिल्लाका १७ विद्यालयमा क्षति पुगेको छ भने हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ।



बाढीको जोखिम बढेपछि एक विद्यालयका प्रधानाध्यापकले समयमै गरेको निर्णयका कारण करिब १ हजार ६ सय विद्यार्थीको ज्यान जोगिएको छ। बाढी आउन सक्ने संकेत पाएलगत्तै प्रधानाध्यापकले विद्यालय बन्द गरी विद्यार्थीलाई सुरक्षित स्थानतर्फ पठाउने निर्णय गरेका थिए। विद्यालय प्रशासनले जोखिमको आकलन गर्दै दुई मिनेटभित्र निर्णय लिएपछि ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।

तर, बाढीको चपेटामा परेर घरबाट विद्यालयतर्फ हिँडेका विद्यार्थीसमेत प्रभावित भएका छन्। बाढीका कारण २३३ विद्यार्थी र १७ शिक्षक सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्रभावित क्षेत्रमा विद्यार्थी, शिक्षक र अभिभावकसमेत बेपत्ता भएपछि विद्यालय सञ्चालन तत्काल सम्भव नहुने अवस्था रहेको स्थानीय तहहरूले जनाएका छन्।

बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकामा सञ्चालित ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाको तथ्याङ्कअनुसार चार विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटको प्रारम्भिक विवरणअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आधारभूत विद्यालय र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलको सम्पूर्ण संरचनामा क्षति पुगेको छ। यी विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न नसकिने अवस्था छ।

त्यस्तै, उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षति भएका छन्। हाल एउटा ब्लकमात्र बाँकी रहेको छ। चण्डेश्वरी माध्यमिक विद्यालयको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विद्यालय तथा पायोनियर इङ्लिस बोर्डिङ स्कुलको घेराबार आसपासमा समेत क्षति पुगेको छ।

बाढीले विद्यालयका सवारीसाधनमा समेत क्षति पुर्‍याएको छ। रामचन्द्र आधारभूत विद्यालयको एउटा र उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका दुईवटा बस बाढीले बगाएको छ।

बाढीबाट प्रभावित विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाका सबै विद्यालय अनिश्चित समयका लागि बन्द गरिएको छ। बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाले समेत प्रभावित क्षेत्रका शैक्षिक संस्था तत्काल सञ्चालन गर्न नसकिने जनाएका छन्।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेको तथा विद्यालय भवन, सडक र पुलमा क्षति पुगेकाले तत्काल विद्यालय सञ्चालनको अवस्था छैन। नदी वारपार गर्न सक्ने अवस्था बनेपछि र दैनिक जनजीवन केही सहज भएपछि मात्रै विद्यालय सञ्चालनबारे निर्णय गरिने उनले बताए।

शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउने सूचना प्राप्त भए पनि यसको प्रभाव यति ठूलो हुने अनुमान गरिएको थिएन। उनका अनुसार केही विद्यालयले उच्च सतर्कता अपनाएकाले ठूलो दुर्घटना हुनबाट जोगिएका छन्।

“अहिलेको अवस्था र दैनिक जनजीवन असामान्य छ। केही समयपछि वैकल्पिक माध्यमबाट अध्ययन गराउने योजना बनाउनेछौँ,” सापकोटाले बताए।

यता, किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा ठूलो क्षति नभए पनि बाढीबाट विस्थापित भएकाहरूलाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। बेलकोटगढीमा पनि एक विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ।

बेलकोटगढी–७ स्थित शिलादेवी माध्यमिक विद्यालय बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ भने वडा नं. ५ स्थित महादेव माध्यमिक विद्यालयसमेत प्रभावित बनेको छ।

बाढीका कारण विद्यालयका भौतिक संरचनामा क्षति पुग्नुका साथै विद्यार्थी र शिक्षक सम्पर्कविहीन भएपछि नुवाकोटको शैक्षिक गतिविधि गम्भीर रूपमा प्रभावित भएको छ। तत्काल विद्यालय सञ्चालनभन्दा विद्यार्थी तथा शिक्षकको खोजी, सुरक्षित स्थानान्तरण र क्षतिग्रस्त संरचनाको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने अवस्था देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend