logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ बढ्यो, ढुवानी लागत बढेको उद्योगीको दाबी


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट एलपी ग्यास ढुवानी गर्दा लागत बढेको भन्दै काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य बढाइएको छ।



नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेको भए पनि उद्योगीहरूले ढुवानी लागत भन्दै प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा थप गरेका हुन्।

१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य वृद्धि गरिएको नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्तिमार्फत जनाएको छ। नयाँ मूल्यअनुसार अब उपत्यकामा प्रतिसिलिन्डर ग्यासको मूल्य २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्नेछ।

संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार कृष्णभिरमा पहिरो गएपछि नियमित मार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ल्याउनुपर्ने भएकाले ढुवानी लागत बढेको हो।

‘पहिला बुलेटबाट ग्यास ढुवानी हुन्थ्यो। एक बुलेटमा करिब १ हजार २ सय ५० सिलिन्डर ग्यास आउँथ्यो,’ उनले भने, ‘तर अहिले तराईमा बोटलिङ गरेर त्यहाँबाट अर्को माध्यमबाट काठमाडौं ल्याउनुपर्ने भएकाले ढुवानी महँगो परेको हो।’

उनका अनुसार वास्तविक ढुवानी खर्च प्रतिसिलिन्डर करिब १ सय ८० रुपैयाँ परेको भए पनि त्यसको केही भार मात्रै उपभोक्तामाथि पर्ने गरी १ सय ५ रुपैयाँ ३८ पैसा थप गरिएको हो।

ग्यास उद्योगीहरूले नेपाल आयल निगमसँगको सहमति र विद्यमान प्रावधानअनुसार मूल्य बढाइएको दाबी गरेका छन्।

संघका अनुसार काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका उद्योगमा ग्यास रिफिल गरी पुनः काठमाडौं ल्याउनुपर्ने अवस्था सिर्जना भएकाले थप ढुवानी लागत उपभोक्ता मूल्यमा समायोजन गरिएको हो।

नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले ग्यासको खरिद मूल्य नबढेको तर ढुवानी लागत बढेकाले उपभोक्ता मूल्य बढाउनुपरेको बताए।

‘आयल निगमले हामीलाई काठमाडौंसम्मको भाडा नदिई तराईसम्मको मात्र भाडा दिएको छ,’ उनले भने, ‘५० किलोमिटरभन्दा बढी दूरीमा ग्यास ढुवानी गर्दा लाग्ने अतिरिक्त भाडा लिन पाउने निगमकै सहमति र प्रावधानअनुसार प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ बढाइएको हो।’

उनका अनुसार उद्योगीको वास्तविक अतिरिक्त खर्च प्रतिसिलिन्डर २ सय रुपैयाँभन्दा बढी भए पनि निगमको प्रावधानअनुसार १ सय ५ रुपैयाँभन्दा बढी लिन मिल्दैन।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend