logo सोमबार, भाद्र २२ २०८३ | Monday 7th September 2026

विपद् प्रभावितका लागि करिब ८० लाखको सहयोग, दुई स्थानमा स्वच्छ खानेपानी प्लान्ट जडान


  • जन आकाश
  • आइतबार, भाद्र २१ २०८३

काठमाडौं ।  हालैको विपद्बाट प्रभावित समुदायको सहयोगका लागि म्याक्स नेपालले करिब ८० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ। म्याक्स क्लबको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा गरिएको सहयोगमा प्रत्यक्ष आर्थिक सहायता, दिगो स्वच्छ खानेपानीको व्यवस्था तथा आवश्यक राहत सामग्री समावेश छन्।



म्याक्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकमको चेक केही दिनअघि अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरिएको थियो।

त्यस्तै, त्रिशूली नदी आसपासका विपद् प्रभावित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी करिब ३० लाख रुपैयाँ बराबरको राहत तथा खानेपानीसम्बन्धी सहयोग गरिएको छ। दुई वटा अस्थायी होल्डिङ सेन्टरमा सौर्य ऊर्जामा आधारित ‘अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गर्नुका साथै करिब ४०० जनालाई आवश्यक राहत सामग्री वितरण गरिएको छ।

राहत वितरण तथा स्वच्छ खानेपानी प्लान्ट जडान कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापालगायत कर्मचारी तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापालगायत डिस्ट्रिक्टका पदाधिकारीहरूको प्रत्यक्ष सहभागिता रहेको थियो।

वितरण गरिएका राहत सामग्रीमा डसना, सिरानी, तन्नालगायत सुत्नका लागि आवश्यक सामग्री, औषधि तथा आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न तथा तरकारी, खाना पकाउने सामग्री तथा भाँडाकुँडा, पुरुष, महिला तथा बालबालिकाका लागि कपडालगायत दैनिक जीवनका आवश्यक सामग्री रहेका छन्।

नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालयमा सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ। उक्त विद्यालयमा हाल करिब ३०० परिवारले अस्थायी रूपमा आश्रय लिइरहेका छन्।

त्यसैगरी, नुवाकोटकै विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा अर्को पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ। त्यहाँ हाल करिब २०० परिवारले अस्थायी रूपमा आश्रय लिइरहेका छन्।

प्रत्येक पानी शुद्धीकरण प्रणालीले प्रतिघण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमता राख्छ। यसबाट अस्थायी आश्रयस्थलमा रहेका परिवारलाई सुरक्षित तथा स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आश्रयस्थलबाट प्रभावित परिवारहरू अन्यत्र गएपछि विद्यालय सञ्चालन हुँदा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले समेत उक्त प्रणालीबाट लाभ लिन सक्नेछन्।

म्याक्स नेपालले उक्त राहत तथा सहयोग कार्यक्रम आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरिएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend