जन आकाश
काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिका कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालको संयोजकत्वमा गठित छानबिन समितिले भदौ ७ गते राति करिब १ बजे भएको आगलागी घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट घटनापछि अनुसन्धान टोली घटनास्थलमा खटाइएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत करिब ४५ वर्षीय धनराज ढकाल घटनामा संलग्न देखिएपछि पक्राउ गरिएको सूचना अधिकारी ढकालले बताए।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई कानुनबमोजिम हुम्ला जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले उनीहरूमाथि थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीको वास्तविक कारण तथा घटनामा पक्राउ परेका व्यक्तिहरूको संलग्नताबारे थप तथ्य अनुसन्धान पूरा भएपछि खुल्ने प्रहरीको भनाइ छ।
आगलागीबाट गाउँपालिकाको जिन्सी शाखामा राखिएकाकाठका चारवटा र्याग, एउटा सुत्ने खाट, एउटा टेबल र एउटा सोलार ब्याट्री जलेर नष्ट भएका छन्। साथै, आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्मका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend