logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कांग्रेसको १५औँ महाधिवेशन भृकुटीमण्डपमा, असोज १६ देखि १९ गतेसम्म


  • जन आकाश
  • मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेश काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ। महाधिवेशनका लागि असोज १६ देखि २० गतेसम्म प्रदर्शनी हल, बगैंचा तथा पार्किङस्थल बुकिङ गरिएको कांग्रेसले जनाएको छ।



कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृह तथा प्रदर्शनीमार्गलाई पत्र पठाउँदै महाधिवेशनका लागि प्रदर्शनी हल, बगैंचा र पार्किङस्थल उपलब्ध गराउन आग्रह गरेका छन्।

कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तयारी गरेको छ। यद्यपि, तल्ला तहका अधिवेशनको कार्यतालिका भने संशोधन हुने भएको छ।

कांग्रेसले यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर तोकिएको समयमा वडा अधिवेशन नहुने भएपछि नयाँ कार्यतालिका ल्याउने तयारी गरिएको छ।

सानेपामा बसेको बैठकले पूर्वनिर्धारित केन्द्रीय महाधिवेशनको मिति कायमै राख्दै तल्ला तहका अधिवेशनको कार्यतालिका संशोधन गर्ने तयारी गरेको हो।

यसैबीच, १५औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी हुने वा नहुने विषय अझै स्पष्ट भएको छैन। देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई संयोजक बनाएर १५औँ महाधिवेशन तयारी समिति गठन गरेको छ। उक्त समितिले हालै मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका सार्वजनिक गरेको थियो।

यता कांग्रेस सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग पछिल्लो समय संवाद गरेका छन्। महाधिवेशनको मिति, पार्टीभित्रको सहमति र तल्ला तहका अधिवेशनलाई लिएर कांग्रेसभित्र आन्तरिक छलफल तीव्र बनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend