logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘जेनजीले देखाएको विधिको शासन र राष्ट्रिय स्वाभिमानको मार्गबाट एक इन्च पनि विचलित हुँदैनौँ’ : रवि लामिछाने


  • जन आकाश
  • मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनले अघि सारेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने बताएका छन्।



जेनजी दिवसका अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध युवा पुस्ताले गरेको आन्दोलनलाई ऐतिहासिक जागरणको संज्ञा दिएका छन्।

उनले एक वर्षअघि नेपाली इतिहासमा नयाँ जागरणको विस्फोट भएको उल्लेख गर्दै परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताको रगत बगेको देख्नु आफूहरूका लागि अत्यन्त पीडादायी भएको बताएका छन्।

लामिछानेले भदौ २३ र २४ गते भएको घटनाको स्मरण गर्दै त्यस्तो दिन फेरि कहिल्यै नदोहोरियोस् भन्ने कामना गरेका छन्। नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै ज्यान गुमाएका आन्दोलनकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि सम्मान व्यक्त गरेका छन्।

आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका र मानसिक तथा शारीरिक चोट भोगेकाहरूको उचित उपचार र दीर्घकालीन पुनःस्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्ने लामिछानेको भनाइ छ।

उनले जेनजी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरणका रूपमा भएको दाबी गरेका छन्। त्यसैले कुनै पनि राजनीतिक दल वा नेताले आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने उनको चेतावनी छ।

लामिछानेले युवा पुस्ताले सडकबाट उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले राजनीतिक नेतृत्वमाथि आएको उल्लेख गर्दै आफूहरू पनि भोलि जनताबाट जवाफ मागिने ठाउँमा रहेको बताएका छन्।

उनले युवा, नागरिक समाज र आम नागरिकलाई सरकार तथा राजनीतिक नेतृत्वको निरन्तर रचनात्मक खबरदारी गर्न आग्रह गरेका छन्। साथै, नागरिक आक्रोशलाई निराशामा नभई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

विज्ञप्तिको अन्त्यमा लामिछानेले भनेका छन्, ‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौं भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend