जन आकाश
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA)ले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
NAIMA ले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। NAIMA का अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा सहयोग रकम हस्तान्तरण गरिएको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा NAIMA का बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा डिजिटल एजेन्सीका प्रतिनिधि उत्सव कार्कीलगायतको सहभागिता थियो।
सो अवसरमा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि विपद्को कठिन समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु यसको मुख्य उद्देश्य रहेको बताइन्।
उनले NAIMA का सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट गरिएको सहयोग संकट र विपद्का समयमा सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धताको सन्देश भएको बताइन्।
सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले NAIMA ले गरेको सहयोगको प्रशंसा गर्दै विपद्को संवेदनशील अवस्थामा प्राप्त यस्तो सहयोग अत्यन्त मूल्यवान् रहेको बताए। रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend