जन आकाश
विनोद नेपाली
काठमाडौं । दैलेख जिल्लाको आठबिस नगरपालिका–६ मा पछिल्लो समय भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि स्थानीयवासीमा स्वास्थ्य जोखिम बढेको छ। वडाका विभिन्न टोलमा ठूलो संख्यामा नागरिक बिरामी पर्न थालेपछि बर्षाको कारणले अस्पताल तथा स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने अवस्थाका बिरामीलाई वडाले घरदैलोमै स्वास्थ्य परीक्षण सुरु गरेको छ।
बिरामीको चाप बढ्दै गएपछि आठबिस नगरपालिका–६ का वडाध्यक्ष नमराज शर्माको पहलमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरी टोल–टोलमा पुगेर नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श दिन थालिएको हो।
भाइरल ज्वरोका कारण कतिपय नागरिकलाई अस्पताल वा स्वास्थ्य चौकीसम्म पुग्नसमेत कठिनाइ भइरहेको अवस्थामा वडाध्यक्ष शर्माले बिरामीको अवस्था बुझ्दै घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने पहल गरेका हुन्। विशेषगरी बर्षाका कारण वृद्धवृद्धा, बालबालिका तथा हिँडडुल गर्न कठिनाइ भएका बिरामीलाई घरदैलोमै स्वास्थ्य परीक्षण उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडाले जनाएको छ।
यस्तो अवस्थामा सामान्य स्वास्थ्य समस्याका कारण पनि नागरिकले समयमै उपचार नपाउने अवस्था आउन नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई टोल–टोलमा खटाइएको वडाध्यक्ष शर्माले जानकारी दिए।
घरदैलोमा पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य अवस्था जाँच गर्नुका साथै आवश्यक औषधि, स्वास्थ्यसम्बन्धी परामर्श तथा थप उपचार आवश्यक परे स्वास्थ्यसंस्थामा जान सुझावसमेत दिइरहेको छ।
वडाध्यक्ष शर्माले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बिरामीको अवस्था गम्भीर हुन नदिन तत्कालै घरदैलो स्वास्थ्य परीक्षणलाई अगाडि बढाइएको बताए। उनले ज्वरो, रुघाखोकी, टाउको दुख्ने, शरीर दुख्ने लगायतका समस्या देखिएका नागरिकले स्वास्थ्यमा लापरबाही नगरी समयमै स्वास्थ्यकर्मीको सम्पर्कमा आउन आग्रह गरेका छन्।
स्थानीय तहले नै बिरामीको घरसम्म पुगेर स्वास्थ्य परीक्षण सुरु गरेपछि स्थानीयवासीले समेत राहत महसुस गरेका छन्। दुर्गम तथा स्वास्थ्य संस्था पुग्न कठिन हुने बस्तीका नागरिकका लागि यस्तो घरदैलो स्वास्थ्य सेवा प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
वडाध्यक्ष शर्माका अनुसार बिरामीको अवस्था र आवश्यकताका आधारमा घरदैलो स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउँदै अन्य टोलमा समेत निरन्तरता दिइनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend