जन आकाश
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दल तथा नेताहरूलाई आफ्नो सोच र कार्यशैली परिवर्तन गर्दै सुध्रिन आग्रह गरेका छन्। जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई अपमान नगर्नसमेत चेतावनी दिएका छन्।
गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई तीन करोड नेपाली जनताको समर्थन र आवाजका रूपमा बुझ्नुपर्ने बताए। आन्दोलनलाई अपमान गर्नु भनेको देशका नागरिकको भावनालाई अपमान गर्नु भएको उनको भनाइ थियो।
‘तीन करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो,’ उनले भने, ‘तपाईंले यो आन्दोलन अपमान गर्नुहुन्छ भने तीन करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको हो। यो कुरा स्मरण गर्नुस्। त्यसकारण सुध्रिनुस्, अझै पनि समय छ।’
उनले पुरानो सोच र परम्परागत राजनीतिक शैलीबाट नयाँ नेपाल निर्माण सम्भव नहुनेसमेत बताए। देशको बदलिँदो परिस्थिति र नयाँ पुस्ताको अपेक्षालाई आत्मसात् गर्दै राजनीतिक दलहरूले आफूलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले जेनजी पुस्ताले उठाएका मागहरू पूरा हुने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले सरकार जेनजीका माग र भावनाप्रति गम्भीर रहेको दाबी गरे।
‘सम्पूर्ण जेनजी पुस्तालाई के भन्न चाहन्छु भने, हाम्रो माग पूरा नहुन देशमा अर्को एउटा गोली चल्नुपर्छ, त्यो चाहिँ मेरो शिरबाट मात्र हुन्छ,’ उनले भने।
उनले प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछानेले जेनजी पुस्ताको आशा र विश्वासलाई मर्न नदिने विश्वाससमेत व्यक्त गरे। सुशासनप्रति नागरिकले गरेको विश्वासलाई कायम राख्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले देशमा पुनः गोली चल्ने अवस्था आउन नदिने दाबी गर्दै त्यसो भएमा मात्र मन्त्री पदबाट हट्ने अवस्था आउने बताए। ‘अर्को गोली चल्न यो देशमा कसैले हिम्मत गर्न सक्दैन,’ उनले भने।
उनको अभिव्यक्तिले पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ पुस्ताको अपेक्षाअनुसार शासन प्रणाली र राजनीतिक कार्यशैली परिवर्तन गर्नुपर्ने सन्देश दिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend