logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

जेनजीका माग पूरा गर्न सरकार प्रतिबद्ध छ : कानुनमन्त्री सोबिता गौतम


  • जन आकाश
  • मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनका शहीद तथा घाइतेका माग सम्बोधन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गौतमले वर्तमान सरकारप्रति विश्वास र धैर्यता कायम राख्न आग्रह गरेकी हुन्।



मन्त्री गौतमले जेनजी आन्दोलनका माग सम्बोधन गर्ने विषयमा सरकारभित्र नियमित रूपमा छलफल भइरहेको जानकारी दिइन्। आन्दोलनका क्रममा भदौ २३ गते नागरिकमाथि गोली चलेको स्मरण गर्दै उनले आगामी दिनमा त्यस्तो दुःखद अवस्था कसैले पनि भोग्न नपरोस् भन्नेमा सबैले संकल्प गर्नुपर्ने बताइन्।

‘यो स्मृति दिवसमा हामी सबैले सङ्कल्प गर्नुपर्छ कि २३ गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्, कोही आमाले पनि भोग्न नपरोस्, कोही परिवारले पनि भोग्न नपरोस्,’ उनले भनिन्।

उनले जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न माग सम्बोधनका लागि सरकारका मन्त्री तथा सांसदहरू निरन्तर छलफल र परामर्शमा रहेको बताइन्। सरकार नागरिकका मागप्रति गम्भीर रहेको भन्दै उनले मागहरू पूरा गर्न आवश्यक प्रक्रिया र कानुनी बाटो पहिल्याउँदै काम भइरहेको स्पष्ट पारिन्।

मन्त्री गौतमले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रहसमेत गरिन्। जेनजीभित्रै आपसी विवाद, विभाजन र दोषारोपण बढ्दै गए आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउन सक्ने उनको भनाइ थियो।

‘एकआपसमै लड्न थाल्यौँ, एकआपसमै दोषारोपण गर्न लाग्यौँ भने विरोधीहरू, जो हाम्रो फुटमा खुसी हुन्छन्, तिनीहरूले स्पेस पाउँछन्,’ उनले भनिन्।

सरकार गठन भएको करिब पाँच महिना मात्र भएको उल्लेख गर्दै मन्त्री गौतमले नयाँ संरचनाभित्र काम गर्ने तौरतरिका बुझ्न र विभिन्न प्रक्रिया अघि बढाउन केही समय लाग्ने बताइन्। सरकार सञ्चालन सहज नभए पनि आफूहरू जेनजी आन्दोलनबाट उठेका मुद्दा सम्बोधन गर्न निरन्तर प्रयासरत रहेको उनको भनाइ छ।

उनले जेनजी पुस्ता तथा शहीद परिवारले भोगेको पीडाप्रति आफूहरू पनि गम्भीर रहेको बताउँदै सरकार उनीहरूको साथमा रहेको स्पष्ट पारिन्। ‘तपाईंहरूले भनेका हरेक विषयलाई हामीले पूरा गर्न कसरी सही ढङ्गले गर्न सकिन्छ भनेर हरबखत छलफल गरिरहेका छौँ, प्रयत्न गरिरहेका छौँ,’ उनले भनिन्।

आन्दोलनपछि भएको निर्वाचनमार्फत नेपाली जनताले आफ्नो नेतृत्व रोजेको भन्दै मन्त्री गौतमले वर्तमान सरकार जनताको आवाज सुन्न र त्यसअनुसार काम गर्न तयार रहेको बताइन्। सरकारसँग प्रतिनिधिसभामा पर्याप्त संख्या भए पनि कानुन निर्माणलगायतका विषयमा संवैधानिक तथा प्रक्रियागत चुनौती रहेको उनले उल्लेख गरिन्।

मन्त्री गौतमले जेनजीका माग तथा शहीद र घाइतेले देखेका सपनाहरू पूरा गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याइन्।

‘यो सरकार सफा नियतसहित आएको छ। तपाईंहरूले भनेका हरेक सपना, हाम्रा शहीदले देखेका हरेक सपना र घाइते साथीहरूले देख्नुभएका हरेक सपना पूरा गर्न यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,’ उनले भनिन्।

उनले सबै पक्षलाई धैर्य, एकता र आपसी सहयोगका साथ अघि बढ्न आग्रह गर्दै सही नियतका साथ काम गरे देश निर्माण गर्न धेरै समय नलाग्ने विश्वाससमेत व्यक्त गरिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend