जन आकाश
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस नवयुवाको आक्रोशबाट उत्पन्न घटना नभई लोकतन्त्र र संविधानको ‘प्रगतिशील कोर्स’ उल्ट्याउने योजनाको परिणाम भएको आरोप लगाएका छन्।
भदौ २४ गते भएको घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै ओलीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी र आक्रमणलाई योजनाबद्ध विध्वंसको संज्ञा दिएका हुन्।
उनले प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि समेत विभिन्न स्थानमा आगजनी, तोडफोड र हिंसाका घटना भइरहनुले भदौ २४ को घटना अघिल्लो दिन नवयुवाको ज्यान गएको घटनाबाट उत्पन्न तत्कालीन आवेग वा आक्रोश मात्र नभएको दाबी गरेका छन्।
ओलीले भनेका छन्, “भदौ २४ को त्यो त्रासदी राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील ‘कोर्स’लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रूप थियो।”
ओलीले भदौ २४ को घटनाबारे गहिरो र निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति लिएको कार्यक्रम कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थियो भन्ने यथार्थ सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई दोषी ठहर गर्दै प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्ने तथा मुद्दा चलाउने प्रयास भएको आरोप लगाउँदै ओलीले घटनामा सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदनसमेत गुपचुप राखिएको दाबी गरेका छन्।
भदौ २४ को विध्वंसका आरोपीलाई उन्मुक्ति दिने र उनीहरूविरुद्ध सुरु भएका अनुसन्धान तथा अभियोजनका प्रक्रिया रोकिएको भन्दै उनले यसले “राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको” आरोप लगाए।
ओलीले राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्नसमेत उठाएका छन्।
उनले भनेका छन्, “नेपाल राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा राज्यका सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्न आज पनि अनुत्तरित छ।”
ओलीले अब कुनै पनि नाममा हिंसा र अराजकतालाई वैधता दिन नहुने बताएका छन्। राजनीतिको अपराधीकरण नरोकिने, राज्य दहन गर्नेहरूले उन्मुक्ति पाइरहने र दण्डहीनता अन्त्य नहुने हो भने देशले पटक–पटक यस्तै पीडा भोग्नुपर्ने उनको चेतावनी छ।
लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार गर्न नहुनेमा जोड दिँदै ओलीले जुनसुकै समस्याको पनि शान्तिपूर्ण समाधान खोजिनुपर्ने बताएका छन्।
गत वर्षको आन्दोलनमा नवयुवाहरूले उठाएका मूल सरोकार भने गलत नभएको ओलीको भनाइ छ। नवयुवाहरूको सरोकार र अपेक्षा जायज भए पनि त्यसको लाभ अन्य तत्वले उठाएको उनले दाबी गरेका छन्।
“जेन–जी विद्रोहका नाममा जुन हिंसा र विध्वंस भयो, त्यसमा नवयुवाहरूको संलग्नता थिएन। तर अरू नै तत्वहरूले त्यसको लाभ लिए,” ओलीले भनेका छन्।
उनले अहिले लोकतन्त्र, संविधान, राष्ट्रिय हित र स्वाभिमानमाथि चुनौती बढिरहेको दाबी गर्दै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्ति र व्यक्तिहरूलाई सहकार्य गरेर अघि बढ्न आह्वान गरेका छन्।
ओलीले लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्दै हिंसा, अराजकता तथा दण्डहीनताविरुद्ध दृढ रूपमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend