जन आकाश
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन दुई चरणमा गर्ने भएको छ। पहिलो चरणमा वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र केन्द्रीय महाधिवेशन गरी पाँच तहका अधिवेशन सम्पन्न गर्ने र त्यसपछि दोस्रो चरणमा जिल्ला तथा प्रदेश अधिवेशन गर्ने तयारी कांग्रेसले गरेको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो चरणमा स्थानीय तहदेखि केन्द्रीय महाधिवेशनसम्मको प्रक्रिया पूरा गरिनेछ। त्यसपछि मात्र ७७ जिल्ला र सातै प्रदेशका अधिवेशन हुनेछन्।
कांग्रेस प्रवक्ता देवराज चालीसेका अनुसार वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि केन्द्रीय महाधिवेशनका लागि आवश्यक महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।
उनले भने, “वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्छौं। यी तहका अधिवेशन गर्दा केन्द्रीय महाधिवेशनका मतदाता चयन भइसक्छन्। केन्द्रीय महाधिवेशन सकेर दोस्रो चरणमा ७७ जिल्ला र सातै प्रदेश अधिवेशन गर्छौं।”
कांग्रेसले १६ दिनभित्र पहिलो चरणका पाँच तहको अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। संवैधानिक बाध्यताका कारण मंसिर २४ गतेअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्थामा कांग्रेसले छोटो समयमै अधिवेशन प्रक्रिया अघि बढाएको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सार्वजनिक गरेको कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ। ६ हजार ७ सय ४३ वटै वडामा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।
त्यसपछि असोज ७ गते ७ सय ५३ पालिकाको अधिवेशन हुनेछ। असोज १० गते ३ सय ३० प्रदेश सभा क्षेत्रीय अधिवेशन र १ सय ६५ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ।
केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ। महाधिवेशनका लागि भृकुटीमण्डपको हल, बगैंचा तथा पार्किङस्थलसमेत बुकिङ भइसकेको कांग्रेसले जनाएको छ।
जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका भने केन्द्रीय महाधिवेशनपछि दोस्रो चरणमा सार्वजनिक गरिनेछ।
महाधिवेशनको तयारी अघि बढे पनि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसहित कांग्रेसभित्रको संस्थापनइतर समूह महाधिवेशन प्रक्रियामा सहभागी हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट भइसकेको छैन।
पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा ‘१५औँ महाधिवेशन तयारी समिति’ गठन गरी चुनदेवीस्थित सम्पर्क कार्यालयबाट समानान्तर गतिविधि अघि बढाइएको छ। उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ।
यसबीच सभापति गगन थापाले पार्टीभित्र देखिएको मतभेद समाधानको प्रयास गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग संवाद गरेका थिए। निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटका लागि पटक–पटक समय मागे पनि भेट हुन नसकेको थापाले बताउँदै आएका छन्।
खड्का र कोइराला पक्ष महाधिवेशनमा सहभागी हुने वा नहुने विषयमा उनीहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
महाधिवेशनलाई लिएर खड्का र कोइराला पक्षले उठाउँदै आएका मागमध्ये क्रियाशील सदस्यता अद्यावधिक नगरे पनि महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था कांग्रेसले गरेको छ।
कांग्रेसले गत पुस १० गतेसम्म नवीकरण भएका क्रियाशील सदस्यबाट थप विवरण लिएर सदस्यता अद्यावधिक गरेको थियो। सभापति गगन थापाका अनुसार करिब ६ लाख सदस्यले विवरण अद्यावधिक गरेका छन् भने २ लाख नयाँ सदस्य थपिएका छन्। अहिले कांग्रेसमा करिब ८ लाख क्रियाशील सदस्य रहेको उनको भनाइ छ।
यसपटक कांग्रेसको महाधिवेशन नयाँ विधानअनुसार हुनेछ। नेताहरूका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या अघिल्लो महाधिवेशनको तुलनामा करिब २ हजारले बढ्नेछ।
पालिका सभापति, प्रदेश सभा क्षेत्रीय सभापति तथा प्रदेश सभा क्षेत्रीय प्रतिनिधिलाई समेत महाधिवेशन प्रतिनिधि बनाउने तयारी कांग्रेसले गरेको छ।
महामन्त्री प्रदीप पौडेलका अनुसार विधानमा स्पष्ट नभएका केही विषयलाई संशोधनमार्फत स्पष्ट पारिनेछ। प्रदेश सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि बनाउने, प्रदेश क्षेत्रबाट सम्बन्धित प्रदेश अधिवेशनका प्रतिनिधि रहने तथा भ्रातृ संस्थाको प्रतिनिधित्वलगायत विषयलाई पनि व्यवस्थित गरिनेछ।
संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि संस्थापनइतर पक्षले पनि आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाउने जनाएको छ।
‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’का सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले नियमित महाधिवेशन पक्षधरले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने बताएका छन्।
उनका अनुसार पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने प्रयास भए पनि संस्थापन पक्षले कार्यतालिका सार्वजनिक गरेपछि आफूहरू पनि आफ्नो कार्यतालिका सार्वजनिक गर्न बाध्य भएका हुन्।
कुईकेलले निवर्तमान सभापति शेरबहादुर देउवा पनि पार्टी एकताको पक्षमा रहेको दाबी गरेका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका नेताहरूको स्वाभिमानको रक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने देउवाको धारणा आफूले बुझेको उनले बताए।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पनि पार्टी एकताको पक्षमा रहेको उनको भनाइ छ।
यसअघि २०७८ मा सम्पन्न १४औँ महाधिवेशनका क्रममा पनि १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि गरिएको थियो। यसपटक पनि केन्द्रीय महाधिवेशनका लागि जिल्ला तथा प्रदेश कार्यसमितिबाट प्रतिनिधि आउने व्यवस्था नरहेकाले ती दुई तहका अधिवेशन पछि गर्न लागिएको कांग्रेसले जनाएको छ।
यसरी कांग्रेसभित्र महाधिवेशनको औपचारिक तयारी तीव्र बनेसँगै पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान हुने वा समानान्तर रूपमा दुई पक्षका महाधिवेशन अघि बढ्ने भन्ने विषय भने अझै अनिश्चित बनेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend