जन आकाश
काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि एक विपन्न महिलाले अस्पतालको बाहिर फुटपाथमै शिशु जन्माएको घटना सार्वजनिक भएको छ।
राजविराज नगरपालिका–१४ पर्साहीकी हरेराम पासवानकी श्रीमती बबिता पासवानले बुधबार बिहान करिब साढे २ बजे अस्पतालबाहिरै बच्चा जन्माएको बताइएको छ। सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी उनलाई पैसा नभएका कारण आवश्यक जाँच गर्न नसकेको र अस्पतालले भर्ना लिन नमानेको पीडित पक्षको दाबी छ।
बबिताका अनुसार मंगलबार राति करिब डेढ बजे प्रसव व्यथा लागेपछि उनी श्रीमान् हरेराम र आफन्त दुई महिलासहित सिटी रिक्सामा अस्पताल पुगेकी थिइन्। अस्पतालको प्रसूति विभागमा कार्यरत स्टाफ नर्सले अल्ट्रासाउन्ड तथा रगत र पिसाब परीक्षण गर्नुपर्ने भन्दै त्यसका लागि करिब २ हजार ५०० रुपैयाँ लाग्ने बताएको उनको भनाइ छ।
आफू विपन्न भएको र तत्काल पैसा नभएको बताए पनि जाँच नगरी प्रसूति गराउन नमिल्ने भन्दै आफूलाई अस्पतालबाट बाहिर पठाइएको बबिताको दाबी छ। यसअघि आफ्ना तीन सन्तान पनि सामान्य रूपमा जन्मिएको र कुनै चेकजाँच नगराएको उनले बताएकी छन्।
अस्पतालले भर्ना नलिएपछि बबिता परिवारसहित अस्पतालबाहिर निस्किएकी थिइन्। उनी एक औषधि पसल अगाडि पुगेकी थिइन्। औषधि पसलेले बिहान चिकित्सक आएपछि जाँच गराउने भन्दै त्यहीँ बस्न भनेको बबिताले बताइन्।
तर केहीबेरमै उनलाई प्रसव पीडा बढ्यो। आफन्त महिलाले स्याहार गरिरहेका बेला बबिताले फुटपाथमै छोरालाई जन्म दिइन्। सार्वजनिक भएको भिडियोमा बबिता सडक पेटीमा प्रसव पीडाले छट्पटाइरहेको तथा आफन्तले उनको स्याहार गरिरहेको देखिन्छ।
शिशु जन्मिएपछि परिवारले सालनालसहित बच्चालाई लिएर अस्पताल पुगेको र त्यसपछि पनि भर्ना नगरिएको बबिताको दाबी छ। आफू अस्पतालभित्र बस्न खोज्दा स्वास्थ्यकर्मीले बाहिर जान दबाब दिएको उनले बताएकी छन्।
यता, अस्पतालका फ्रि हेल्थ सर्भिसका फोकल पर्सन मनोज देवले भने महिला राति करिब २ बजे अस्पताल आएको र २४ नम्बर बेडमा भर्ना भएको दाबी गरेका छन्। उनका अनुसार प्रारम्भिक जाँचपछि आवश्यक स्वास्थ्य परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले उनलाई ल्याबमा पठाएका थिए। तर उनीहरू ल्याबबाटै बाहिरिएको र बिहान करिब ५ बजे बच्चा जन्मिएपछि अस्पतालमा आएको देवको दाबी छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले भने आफू काठमाडौंमा रहेको र भिडियो सार्वजनिक भएपछि मात्र घटनाबारे जानकारी पाएको बताएका छन्। उनका अनुसार महिला बच्चा जन्माइसकेपछि बिहान करिब ४ बजे अस्पताल पुगेको जानकारी आफूले पाएका छन्।
घटनाबारे छानबिन गर्न समिति गठन गर्ने तयारी भइरहेको डा. झाले बताएका छन्।
सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिब नागरिकका लागि निश्चित प्रतिशत शय्या छुट्याउनुपर्ने कानुनी व्यवस्था रहे पनि सरकारी अस्पतालकै अगाडि प्रसव पीडामा रहेकी महिलाले फुटपाथमा बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना भएपछि स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। घटनामा दोषी देखिएकालाई कारबाही गर्नुपर्ने मागसमेत उठिरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend