logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रसुवा बाढीमा १ हजार ३७७ जनाको मृत्यु, ५ हजार १३० अझै बेपत्ता


  • जन आकाश
  • बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म १ हजार ३७७ जनाको मृत्यु भएको छ भने ५ हजार १३० जना अझै बेपत्ता रहेका छन्।



राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहतसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको हो।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

बेपत्ता रहेका ५ हजार १३० जनामध्ये रसुवा र नुवाकोट क्षेत्रका धेरै व्यक्ति रहेको बताइएको छ। हालसम्म १०४ वटा शवको सनाखत भएको छ।

विपद्पछि विभिन्न १९ वटा अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धारतर्फ हालसम्म १३ हजार ६५६ जनाको सफलतापूर्वक उद्धार गरिएको छ।

उद्धार गरिएकाहरूको व्यवस्थापनका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। हाल ती केन्द्रमा नुवाकोटका २ हजार ६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रित रहेका छन्।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन नेपाली सेनाले १ हजार ३४८ र सशस्त्र प्रहरी बलले २७२ वटा हवाई उडान गरेका छन्। स्वास्थ्य उपचारतर्फ नेपाली सेनाबाट ३ हजार ५५९ र सशस्त्र प्रहरीबाट ३ हजार ६०६ जनालाई सेवा प्रदान गरिएको छ।

खोज, उद्धार तथा सुरक्षाका लागि कुल २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ८ हजार ८८५, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।

सरकारले रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। त्यस्तै प्रभावित १५ पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको प्राधिकरणले जनाएको छ प्रभावित क्षेत्रमा सडक तथा हवाईमार्गमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाउने काम निरन्तर भइरहेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend