जन आकाश
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका विभिन्न १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने योजना अघि सारेको छ।
मन्त्रालयका अनुसार प्रत्येक अस्पतालमा एकपटकमा कम्तीमा ५० वटा शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण गरिनेछ।
कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृह निर्माण तथा विद्यमान क्षमताको विस्तारका लागि प्रक्रिया अघि बढाइनेछ ।
त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एकपटकमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा क्षमता विस्तार गरिने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विगतका विपद्का क्रममा शव व्यवस्थापनमा देखिएका कठिनाइ तथा पछिल्लो समय भोटेकोशी बाढीपछि शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा पर्याप्त क्षमताको शवगृह आवश्यक रहेको बताइन्।
विपद् व्यवस्थापनका क्रममा प्राप्त सिकाइका आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री मेहताले फरेन्सिक मेडिसिनको महत्त्व बढ्दै गएको र मेडिको–लिगलसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन पनि शवगृहको क्षमता विस्तार अपरिहार्य रहेको बताइन् ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता सुदृढ गर्ने, शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र वैज्ञानिक बनाउने तथा फरेन्सिक र मेडिको–लिगल सेवा विस्तारमा सहयोग पुर्याउने उद्देश्यले यस्तो पूर्वाधार विकास गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend