logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

राष्ट्रिय सभाबारे दिएको अभिव्यक्तिमा मन्त्री सोबिता गौतमले मागिन् माफी


  • जन आकाश
  • शुक्रबार, भाद्र २६ २०८३

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेकी छन्।



बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै मन्त्री गौतमले आफूले तथ्यभन्दा बाहिर गएर कसैको भावनामा चोट पुर्‍याउने उद्देश्यले कुनै कुरा नबोलेको बताइन्।

जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माण प्रक्रियामा समस्या भइरहेको आशयको अभिव्यक्ति दिएपछि मन्त्री गौतमको आलोचना भएको थियो।

स्पष्टीकरण दिँदै उनले कानून निर्माण प्रक्रिया प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै पूर्ण हुने भएकाले आफूले यही संवैधानिक प्रक्रियाबारे उल्लेख गरेको बताइन्।

मन्त्री गौतमले राष्ट्रिय सभाले असहयोग गरेको भनेर आफूले कतै पनि नभनेको स्पष्ट पारिन्। राजनीतिक व्यक्तिका रूपमा आफूले बोलेका विषयलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न ढंगले व्याख्या गरिएको भन्दै उनले आफ्नो अभिव्यक्तिबाट कसैको भावनामा चोट पुगेको भए क्षमाप्रार्थी रहेको बताइन्।

उनले जेनजी शहीद परिवारले आयोजना गरेको कार्यक्रममा कानून निर्माण छिटो गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने लगायतका विषयमा प्रश्न आएपछि आफूले कानून निर्माणको संवैधानिक प्रक्रियाबारे धारणा राखेको स्पष्ट पारेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend