जन आकाश
काठमाडौं । नेपाल सरकारको अनुरोधमा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का फरेन्सिक विशेषज्ञहरूले विनाशकारी बाढीपछि ज्यान गुमाएकाहरूको पहिचान (डीभीआई) गर्न नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन्।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार एफबीआईले विशेष मानवीय तथा फरेन्सिक विशेषज्ञता उपलब्ध गराउँदै नेपाली अधिकारीहरूलाई मृतकको पहिचान गर्न सहयोग गरिरहेको छ। यसबाट अमेरिकी नागरिकसहित बाढीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आफ्ना आफन्तबारे आवश्यक जानकारी उपलब्ध गराउन समेत सहयोग पुग्ने दूतावासले जनाएको छ।
बाढीबाट प्रभावित २०० किलोमिटरभन्दा लामो क्षेत्र तथा ठूलो संख्यामा बेपत्ता र मृतकको पहिचान गर्नुपर्ने अवस्था रहेकाले प्रक्रिया सावधानीपूर्वक र व्यवस्थित रूपमा अघि बढाउनुपर्ने दूतावासले जनाएको छ।
एफबीआईले पहिचानको काम सकेसम्म छिटो सम्पन्न गर्न नेपालका विभिन्न तहका सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।
अमेरिकी दूतावासले खोज तथा उद्धारका प्रयास जारी रहँदा आफ्ना नागरिकका हराइरहेका आफन्तको खोजीमा सहयोग गर्न र नेपाललाई आवश्यक सहायता उपलब्ध गराउन अमेरिका प्रतिबद्ध रहेको बताएको छ।
बाढीबाट प्रभावित सबैप्रति तथा आफ्ना प्रियजन गुमाएकाहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै दूतावासले अझै बेपत्ता रहेकाहरू सकुशल फर्किने आशा पनि व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend