logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

बाढी प्रभावितको सुरक्षा र पुनस्र्थापनामा तत्काल पहल गर्न सांसद केसीको माग


  • जन आकाश
  • शुक्रबार, भाद्र २६ २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिकको सुरक्षा तथा अस्थायी पुनस्र्थापनाको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।



प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद केसीले होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिका असुरक्षा र स्वास्थ्य जोखिममा रहेको भन्दै उनीहरूको सुरक्षाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

उनले अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेका बाढी तथा विपद् प्रभावित नागरिकलाई यथाशीघ्र सुरक्षित स्थानमा अस्थायी रूपमा पुनस्र्थापना गर्न सरकारसँग जोडदार माग गरे।

सांसद केसीले बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा सडक सञ्जाल तथा आवतजावत पूर्ण रूपमा प्रभावित भएको जानकारी संसद्मा गराएका थिए।

हाल बेत्रावतीदेखि गल्छीसम्म सञ्चालनमा रहेका दुईवटा तुइनले मात्रै नागरिकको आवतजावतको समस्या समाधान गर्न नसक्ने उल्लेख गर्दै उनले प्रभावित क्षेत्रमा तत्काल कम्तीमा पाँचवटा बेलीब्रिज निर्माण गर्न सरकारसँग आग्रह गरे।

साथै, सांसद केसीले विपद् प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यलाई थप चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। उनले प्रभावित नागरिकको सुरक्षा, आवास, स्वास्थ्य सेवा र सहज आवतजावतको व्यवस्था गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend