logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

सडकमै बच्चा जन्माउन बाध्य भएको घटनामा राप्रपाको सरकारसँग जवाफ माग


  • जन आकाश
  • शुक्रबार, भाद्र २६ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले राजविराज नगरपालिका–१४, पर्साकी बबिता पासवान सडकमै बच्चा जन्माउन बाध्य भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।



प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता सरकारले पूरा गर्न नसकेको भन्दै प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग जवाफ माग गरेकी हुन्। उनले चुनावका बेला प्रधानमन्त्री बालेनले ‘गोजीमा पैसा नहुनुले उपचार पाउनुपर्छ’ भन्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको स्मरण गराउँदै अहिले उक्त प्रतिबद्धताको कार्यान्वयनमा सरकार कहाँ उभिएको छ भन्ने प्रश्न गरेकी छन्।

सांसद ओलीका अनुसार बबिता पासवानका श्रीमानसँग दुई हजार रुपैयाँ भए पनि उपचारका लागि आवश्यक रकम नपुगेपछि थप पैसा खोज्न जाने क्रममा बबिता अस्पतालको पेटीमै बच्चा जन्माउन बाध्य भएकी थिइन्।घटनालाई अत्यन्तै गम्भीर र संवेदनशील बताउँदै ओलीले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन्, ‘म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु– तपाईंले घोषणा गर्नुभएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ ?’उनले यस घटनाको विषयमा प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरिन्।

बबिता पासवान सडकमै बच्चा जन्माउन बाध्य भएको घटनालाई लिएर प्रतिनिधिसभाका अन्य सांसदहरूले समेत सरकारसँग जवाफ माग गरेका छन्। आर्थिक अभावकै कारण गर्भवती महिलाले समयमा उपचार नपाएर सार्वजनिक स्थानमै बच्चा जन्माउनुपर्ने अवस्था आउनु राज्यको स्वास्थ्य सेवा प्रणालीमाथिको गम्भीर प्रश्न भएको सांसदहरूले बताएका छन्।सांसदहरूले यस्ता घटना दोहोरिन नदिन विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निःशुल्क र सहज स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend