logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

ग्यास अभावप्रति सांसद आशिका तामाङको आक्रोश : ‘ग्यास छैन भने सरकारले घोषणा गरोस्’


  • जन आकाश
  • शुक्रबार, भाद्र २६ २०८३

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले मुलुकमा ग्यासको अभाव रहेको भए सरकारले त्यसबारे औपचारिक घोषणा गर्नुपर्ने बताएकी छन्।



शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङले जनताले भोकै बस्नुपर्ने अवस्था सिर्जना गर्न रास्वपालाई दुई तिहाइ मत नदिएको बताइन्।

उनले भनिन्, साँच्चिकै ग्यास छैन भने आजै, अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गर्नुपर्‍यो। जनतालाई दाउरा खोजेर भात पकाएर खानू भन्न सक्नुपर्‍यो।”

ग्यास अभावकै कारण मन्त्री परिवर्तन गरिएको भनिए पनि समस्या समाधान हुन नसकेको भन्दै तामाङले सरकारप्रति प्रश्न उठाइन्। उनले महिनैपिच्छे ग्यासकै विषयलाई लिएर मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन लामो हुने टिप्पणी गरिन्।

“महिनैपिच्छे ग्यासका लागि मात्रै मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ,” उनले भनिन्।

सांसद तामाङले ग्यास बजारमा उपलब्ध हुँदाहुँदै पनि पसलेहरूले बिक्री नगरेको भन्दै आफूलाई दैनिकजसो फोन आउने गरेको बताइन्। उनले ग्यास अभावको वास्तविक कारणबारे सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्।

उनले सरकारभन्दा ठूलो माफिया कोही छ कि भन्ने प्रश्नसमेत उठाइन्। “यो ल्हासामा सुन छ, कान मेरो बुच्चै छ भनेजस्तो भएन र? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो? यसको जवाफ सदनको सबैभन्दा नजिकको व्यक्तित्व सभामुखज्यूबाट नै पाउनेछु भन्ने आशा गरेको छु,” उनले भनिन्।

सांसद तामाङको अभिव्यक्तिप्रति समर्थन जनाउँदै सत्तारूढ दलका सांसदहरूले टेबल ठोकेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend