जन आकाश
काठमाडौं । बजारमा खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने क्रम बढेको छ। उपभोक्ता ग्यास नपाएर हैरान भइरहेका बेला केही व्यापारीले ग्यास लुकाएर महँगो मूल्यमा बिक्री गरेको पाइएको छ।
प्रहरीले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा छापा मारेर लुकाएर राखिएका सयौँ सिलिन्डर बरामद गरेको छ। काठमाडौंको नरेफाँटबाट १८३ र सामाखुसीबाट १८९ सिलिन्डर बरामद गरिएको छ। कालोबजारी गरेको आरोपमा नरेफाँटका ग्यास डिलर सञ्चालक नारायण श्रेष्ठ र प्रदीप घिमिरे पक्राउ परेका छन्।
त्यस्तै, भक्तपुरको सूर्यविनायकबाट ७५ र इटाछेबाट २८ सिलिन्डर बरामद गरिएको छ। कालोबजारीको आरोपमा उमेश साह र राजेश कर्माचार्य पक्राउ परेका छन्। साहले प्रतिसिलिन्डर २८ सय रुपैयाँसम्ममा ग्यास बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ।
ग्यास अभावका कारण आधिकारिक डिपो र उद्योगहरूमा समेत उपभोक्ताको भीड बढेको छ। कतिपय स्थानमा भीड नियन्त्रण गर्न सशस्त्र प्रहरी परिचालन गरेर ग्यास वितरण गर्नुपरेको छ।
सरकारले आपूर्ति सहज बनाउन नेपाल आयल निगममा विशेष ‘कमाण्ड पोस्ट’ स्थापना गरी ग्यासको आपूर्ति तथा वितरणको निगरानी थालेको छ। मन्त्रालयका अनुसार सडक अवरोधका कारण केही समस्या भए पनि वैकल्पिक मार्गबाट दैनिक करिब ५० हजार सिलिन्डर ग्यास उपत्यकामा ल्याउने व्यवस्था गरिएको छ।
ग्यास सकिएका र एउटामात्र सिलिन्डर भएका उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गर्न उद्योगहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। अशक्त, अपाङ्गता भएका, सुत्केरी तथा गर्भवती महिलालाई समेत नजिकको डिपोबाट सहजीकरण गर्ने व्यवस्था गरिएको छ।
यसैबीच, नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यासको सहज आपूर्तिलाई पहिलो प्राथमिकतामा राखेका छन्। उनले ग्यास उद्योगीहरूसँग छलफल गरी तत्काल समस्या समाधानका लागि आवश्यक कदम चाल्ने बताएका छन्।
सरकारले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने जनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं, ललितपुर र भक्तपुरमा अनुगमन तीव्र बनाएको छ। तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्ने तथा खाली सिलिन्डरसमेत महँगोमा बेच्ने व्यवसायीलाई कारबाही गरिने विभागले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend