logo शनिबार, भाद्र २७ २०८३ | Saturday 12th September 2026

इन्द्रबहादुर चौधरीलाई ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गर्दै १६१ औँ मोतीजयन्ती सम्पन्न


  • जन आकाश
  • शुक्रबार, भाद्र २६ २०८३



-जयराम बिडारी

भदौ २६,काठमाडौँ
नेपाली शिक्षा परिषद्को आयोजनामा १६१ औँ मोतीजयन्ती भव्य रूपमा मनाइएको छ । सो अवसरमा कीर्तिशेष साहित्यकारहरूको स्मृति तथा श्रद्धाञ्जलि, पुस्तक लोकार्पण, पुरस्कार अर्पण र समस्यापूर्ति कवि सम्मेलनसमेत सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष रमा शर्माको सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहमा ‘जयतु संस्कृतम्’का अध्यक्ष डा. बद्री पोखेल प्रमुख अतिथि हुनुहुन्थ्यो । राष्ट्रिय युवासेवा कोषका अध्यक्ष शङ्करप्रसाद पाण्डे, युवावर्ष मोती पुरस्कार छनौट समितिका संयोजक प्रा.डा. रामकुमार पाँडे, छन्दसारथि रमेश खकुरेल तथा अन्य विशिष्ट साहित्यिक व्यक्तित्वहरूको कार्यक्रममा गरिमामय उपस्थिति रहेको थियो ।

सो समारोहमा साहित्यिक क्षेत्रमा निरन्तर क्रियाशील युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवावर्ष मोती पुरस्कार, २०८३’ बाट सम्मानित गरियो ।
पुरस्कृत व्यक्तित्व चौधरीको परिचय र सम्मानपत्र वाचन राष्ट्रिय युवासेवा कोषका सदस्य-सचिव डा. विष्णुबहादुर भण्डारीले गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि डा. बद्री पोखेल र राष्ट्रिय युवासेवा कोषका अध्यक्ष शङ्करप्रसाद पाण्डेले संयुक्त रूपमा चौधरीलाई माला, दोसल्ला, सम्मानपत्र तथा नगद राशि प्रदान गरी पुरस्कार अर्पण गर्नुभएको थियो । पुरस्कार ग्रहणपछि सम्मानित युवा साहित्यकार चौधरीले आफ्नो मन्तव्य व्यक्त गर्दै साहित्य साधनालाई अझ उँचो बनाउने प्रतिबद्धता जनाउनुभयो ।
उक्त अवसरमा राष्ट्रिय गानका साथै गजलविज्ञ घनेन्द्र ओझाले गजल प्रस्तुत गर्नुभएको थियो । त्यसपछि विगत एक वर्षभित्र दिवङ्गत भएका कवि तथा लेखकहरूको तस्बिरमा माल्यार्पण गरी एक मिनेट मौनधारणसहित सामूहिक श्रद्धाञ्जलि अर्पण गरियो । ज्ञाननिष्ठ ज्ञवालीले दिवङ्गत स्रष्टाहरूको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो ।
सोही समारोहबीच नेपाली शिक्षा परिषद्की सदस्य डा. इन्दिरा शर्माको संस्मरात्मक कृति ‘विगतलाई फर्केर हेर्दा’ को लोकार्पण गरियो । कार्यक्रममा रामचन्द्र आचार्यले कृतिको संक्षिप्त परिचय गराउनुभएको थियो भने कृतिकार डा. इन्दिरा शर्माले आफ्नो सिर्जनात्मक यात्राबारे प्रकाश पार्नुभएको थियो ।
‘विपत्तिमा मिली जुटौँ’ विषयमा समस्यापूर्ति कवि सम्मेलन
कार्यक्रमको दोस्रो चरणमा ‘विपत्तिमा मिली जुटौँ’ भन्ने शीर्षकीय  समस्यापूर्ति कवि सम्मेलन समेत आयोजना गरिएको थियो ।सो अवसरमा छन्दसारथि रमेश खकुरेल,रमा शर्मा,ठाकुर शर्मा भण्डारी लगायतले  एक-एक श्लोकमा तयार पारिएका समस्यापूर्ति कविताहरू  वाचन गर्नु भयो । सो समारोहमा छन्दसारथि रमेश खकुरेल,रमा शर्मा,ठाकुर शर्मा भण्डारीलगायत अन्य कविहरूले समसामयिक विषयका कविताहरू प्रस्तुत गर्दा सभाहल काव्यमय बनेको थियो ।

समारोहका प्रमुख अतिथि डा. बद्री पोखेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा मोतीराम भट्टको योगदान अतुलनीय रहेको बताउँदै परिषद्ले साहित्यिक गतिविधिलाई निरन्तरता दिएकामा प्रशंसा गर्नुभयो ।साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन दिव्यचन्द आचार्यले गर्नुभएको थियो ।कार्यक्रमको अन्त्यमा सभापति रमा शर्माले उपस्थित सम्पूर्ण अतिथि, साहित्यकार तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभाको बिसर्जन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend