जन आकाश
–
जयराम बिडारी
काठमाडौँ — नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी तथा साहित्यकार प्रमोद नेपालको नयाँ लघुकथासङ्ग्रह दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा आयोजित एक विशेष समारोहका बिच लोकार्पण गरिएको छ । लेखनका क्षेत्रमा पहिल्यै देखि सक्रिय रहनुभएका नेपाल वि.सं. २०६७ देखि कृतिकारका रुपमा निरन्तर सक्रिय रहनु भएको छ । नेपालको यो कृतिका हिसाबले सातौँ तथा संयुक्त लेखनसमेत गरी आठौँ कृति हो । ५५ वटा लघुकथा समेटिएको उक्त सङ्ग्रहको भूमिका वरिष्ठ साहित्यकार गोपी मैनालीले लेख्नुभएको छ ।
ठाकुर शर्मा भण्डारीले शार्दूलविक्रीडित छन्दमा रचिएको कवितामार्फत स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार युवराज मैनालीले कृतिको समीक्षात्मक टिप्पणी गर्नुभयो ।
समीक्षक मैनालीले पुस्तकमा कलात्मक गद्य र मुटु हुडलेर आँसु बगाउन सक्ने सार्थक लेखन रहेको उल्लेख गर्नुभयो । पूर्णप्रसाद ब्राह्मण सिद्धिचरणदेखि कमलमणि दीक्षितसम्मले लघुकथा लेखिसकेको इतिहास स्मरण गराउँदै उहाँले सङ्ग्रहमा ५५ थरीका सामाजिक यथार्थ, दैनिक जीवनका उतारचढाव, बालमनोविज्ञान, कौतूहलका साथै राजनीतिक विषय र पछिल्लो समयका ‘जेन्जी’ आन्दोलन तथा स्ववियु निर्वाचनजस्ता विविध प्रसङ्गहरू समेटिएको बताउनुभयो । वि.सं. २०२२ देखि नै कथा लेखन सुरु गरे पनि प्रकाशनमा केही ढिलो आएका लेखकको यस कृतिमा उत्तरहीन प्रश्नहरूको सुन्दर संयोजन रहेको समीक्षा गर्नुभयो ।
समारोहमा वरिष्ठ साहित्यकार गोपी मैनालीले कृतिकार नेपाललाई शुभकामना व्यक्त गर्दै २०६७ साल देखि ‘दोहोरिएको इतिहास’ हिमाल मुस्कुराइरहन्छ ,रश्मिपुञ्ज, हत्केलामा घाम र आवाज जस्ता कृतिहरु पाठक माझ प्रस्तुत गरिसक्नु भएका अत्यन्त क्रियाशील साहित्यकार प्रमोद नेपालको पछिल्लो लघुकथा कृतिले सफलता प्राप्त गर्नेछ भनि सुभेक्षा प्रकट गर्नु भयो ।
डा. रामप्रसाद दाहाल, कृष्ण प्रधान र कलानिधि दाहालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । डा. दाहालले सङ्गीतकारको सादृश्य दिँदै बकुल्लाले माछा समात्न चाल मिलाएझैँ प्रमोद नेपाल पनि अत्यन्तै सन्तुलित र योजनाबद्ध ढङ्गले लेख्ने स्रष्टा भएको बताउनुभयो । त्यसैगरी कृष्णचन्द्र प्रधानले राष्ट्र बैंकबाट सेवा निवृत्त भई अरनीको डेभलपमेन्ट बैंकमा समेत कार्य गरिसक्नुभएका नेपालको निरन्तर लेखनयात्राको प्रशंसा गर्नुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ साहित्यकार शुभ सेनले प्रमोद नेपालका सिर्जनाहरू महजस्तै स्वादिलो रहेको टिप्पणी गर्नुभयो । उहाँका मौलिक कथालाई साना र प्रभावकारी कथाका रूपमा परिभाषित गर्नुपर्ने बताउँदै उहाँको सिर्जनात्मक यात्राले साहित्यको दायरा अझ फराकिलो बनाउँदै लैजाओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कृतिका रचनाकार प्रमोद नेपालले ‘रक्तरंजित टाटो’ नामक लघुकथाबाट आफ्नो कथायात्रा सुरु भएको स्मरण गर्दै लता केसीको प्रेरणाले लघुकथा साहित्यमा पाइला चालेको बताउनुभयो । वि.सं. २०३३ मा ‘राष्ट्रपुकार’ मा ‘सिमरौनगढ एक परिचय’ र २०३५ मा ‘बिम्बभित्रको एउटा सत्य’ प्रकाशित भएपछि आफू लेखनमा अझ उत्साहित भएको उहाँले उल्लेख गर्दै समुचित प्रतिक्रियाको अपेक्षित रहेको बताउनु भयो ।
कार्यक्रमका सभापति तथा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले हालैको बाढीको त्रासदीका बिच पनि कार्यक्रम सम्पन्न भएको र संस्थाका तर्फबाट बाढीपीडितका लागि रू. २ लाख बराबरको सहयोग पुर्याइएको जानकारी दिनुभयो । कृतिकार नेपालसँग आफूले पनि राष्ट्र बैंकमा सँगै काम गरेको स्मरण गर्दै पन्तले नेपाल आफूभन्दा पनि अग्रज लेखक रहेको र उहाँको लेखनकलाको निरन्तरताको कामना गर्नुभयो । साथै ६० भन्दा बढी कृतिका स्रष्टा शुभ सेनजस्ता व्यक्तित्वलाई प्रमुख अतिथिका रूपमा पाउनु प्रतिष्ठानका लागि गौरवको विषय भएको बताउनुभयो । यादव भट्टराईद्वारा कुशलता पूर्वक सहजीकरण गरिएको उक्त कार्यक्रममा सयौंका संख्यामा साहित्यकार तथा साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend