जन आकाश
काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा थप नौ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार बिहान भएको दुर्घटनामा चालकसहित एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृतक दुवै जनाको पहिचान भने खुल्न सकेको छैन।
डिएसपी पौडेलका अनुसार दुर्घटनामा चार जना गम्भीर र पाँच जना मध्यम घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ।
आइतबार बिहान करिब सवा ८ बजे सानीभेरी गाउँपालिका–६, कोटबाट खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याब जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता हेमन्त गिरीले आफू, डिएसपी पौडेलसहितको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जानकारी दिए। दुर्घटना गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।
यसैबीच, शनिबार बिहान पनि सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा घाइते भएका थप तीन जनाको दाङमा उपचार भइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend