जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनलगायतका सांगठनिक गतिविधि अघि बढाउन विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन तयारी समिति गठन गरेर समानान्तर गतिविधि अघि बढाइरहेका बेला संस्थापनइतर पक्षले पनि अधिवेशन प्रक्रिया अगाडि बढाउन प्रतिनिधि जिल्लामा पठाएको हो।
पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा गठित समितिले समानान्तर महाधिवेशनका लागि कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ। कार्यतालिकाअनुसार आगामी असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरिएको छ।
केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा पुगेर विभिन्न समितिहरू गठन गर्न भूमिका खेल्ने तथा अधिवेशनका प्रारम्भिक गतिविधि अघि बढाउने बताइएको छ।
तर, तेह्रथुममा केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएकी पूर्वमन्त्री सीता गुरुङले भने असहमति जनाएकी छन्। उनले आफू कांग्रेसको आधिकारिक चुनाव चिह्न र चारतारे झण्डा जहाँ हुन्छ, त्यहीँ रहने स्पष्ट पारेकी छन्।
यसैबीच, देउवा पक्षले गर्न लागेको समानान्तर अधिवेशनमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी नहुने भएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend