logo आइतबार, भाद्र २८ २०८३ | Sunday 13th September 2026

जलनका बिरामीलाई काठमाडौं महानगरको २ लाखसम्म निःशुल्क उपचार


  • जन आकाश
  • आइतबार, भाद्र २८ २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलन (आगलागी तथा पोलिएका) का बिरामीका लागि प्रतिव्यक्ति २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ।



महानगरपालिका र कीर्तिपुरस्थित जनस्वास्थ्य सरोकार ट्रस्ट (कीर्तिपुर अस्पताल) बीच सम्झौता भएपछि विपन्न, हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले उक्त सुविधा पाउने भएका हुन्।

काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारले ‘जलन उपचार कोष’मार्फत प्रतिव्यक्ति २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा पाउने महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिइन्। उनका अनुसार अस्पतालको क्याबिन, ईएचएस वा कस्मेटिक उपचार रोजेमा भने कोषको रकम प्रयोग गर्न पाइने छैन।

सम्झौताअनुसार सेवा सञ्चालन तथा उपकरण खरिदका लागि महानगरपालिकाले कीर्तिपुर अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। त्यसमध्ये १ करोड रुपैयाँ ‘जलन उपचार कोष’का लागि छुट्याइएको छ भने बाँकी १ करोड रुपैयाँ गत वर्ष खरिद गरिएका एनेस्थेसिया मेसिन, जेनेरेटर र डिजिटल एक्सरे मेसिनको भुक्तानीका लागि हस्तान्तरण गरिएको छ।

कार्यवाहक मेयर डंगोलले पैसाको अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताइन्। जलनको घटना भएमा आर्थिक अभावका कारण बिरामीलाई अस्पताल लैजान नसक्ने वा अस्पताल पुर्‍याएपछि उपचार खर्च जुटाउनुपर्ने अवस्था अन्त्य गर्न कोषले सहयोग गर्ने उनको भनाइ छ।

महानगरपालिकाले आगलागी नियन्त्रणमा अग्रपंक्तिमा खटिने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीयलाई जलनबाट बच्ने उपायबारे सचेतना र क्षमता विकासका कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend