logo आइतबार, भाद्र २८ २०८३ | Sunday 13th September 2026

न्युरोडको एनएसी भवनमा बहुस्तरीय पार्किङ बनाउन महानगरले माग्यो अनुमति


  • जन आकाश
  • आइतबार, भाद्र २८ २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुस्तरीय पार्किङ (मल्टी स्टोरी पार्किङ)का रूपमा विकास गर्न संघीय सरकारसँग अनुमति मागेको छ। काठमाडौंमा दिनप्रतिदिन बढ्दै गएको पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम उपयोग गर्ने उद्देश्यले महानगरले यस्तो प्रस्ताव अघि बढाएको हो।



आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले एनएसी भवनमा बहुस्तरीय पार्किङ संरचना निर्माणका लागि संघीय सरकारसँग विशेष अनुरोध गरिएको जानकारी दिइन्। उनले काठमाडौंको क्षेत्रफल सीमित रहेकाले नयाँ ठाउँ थप्नुभन्दा उपलब्ध स्थानको उचित सदुपयोग गर्दै पार्किङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

‘पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। हाम्रो क्षेत्रफल सीमित भएकाले उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो,’ डंगोलले भनिन्, ‘एनएसीमा बहुस्तरीय पार्किङ निर्माण हुन सकेमा विशेषगरी कोर एरियाको पार्किङ समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ।’

महानगरपालिकाले काठमाडौंको पार्किङ समस्या समाधानका लागि उपलब्ध स्थानको अधिकतम उपयोगमा जोड दिएको छ। यसैक्रममा महानगरभित्र पार्किङको अवस्था र यसको दिगो व्यवस्थापनका उपायबारे विज्ञमार्फत विस्तृत अध्ययनसमेत भइरहेको डंगोलले जानकारी दिइन्।

उनका अनुसार विज्ञहरूको अध्ययन प्रतिवेदन केही समयभित्रै प्राप्त हुने अपेक्षा गरिएको छ। प्रतिवेदनले दिएका सुझावका आधारमा पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र प्रणालीगत बनाउँदै समस्या समाधानतर्फ महानगर अघि बढ्ने उनले स्पष्ट पारिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend