logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

देउवा पक्षले १५औँ महाधिवेशनका लागि चार समिति गठन


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन तयारीका लागि चार वटा समिति गठन गर्दै संयोजक तोकेको छ। १५औँ महाधिवेशन तयारी समितिका संयोजक एवं पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र विधान मस्यौदा समिति गठन गरेका हुन्।



सचिवालय समन्वय समितिका प्रमुख दीपकप्रसाद कुईकेलका अनुसार हालसम्म चार वटा समितिको संयोजक तोकिएको छ। निर्वाचन समितिको संयोजकमा एगराज पोखरेल, सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मा, अनुशासन समितिमा पद्मनारायण चौधरी र विधान मस्यौदा समितिमा शिव हुमागाईंलाई जिम्मेवारी दिइएको छ।

देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ। असोज ९ गतेसम्म नयाँ क्रियाशील सदस्यता लिन सकिने व्यवस्था गरिएको छ। १४औँ महाधिवेशनमा सहभागी भएका तथा गत पुस १० गतेसम्म सदस्यता नवीकरण गरेका व्यक्तिले पनि अधिवेशनमा भाग लिन पाउने कुईकेलले जानकारी दिए।

देउवा पक्षले केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने तयारी गरेको छ। यता नेपाली कांग्रेसले भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने घोषणा गरेको छ। यसको सुरुवात असोज ३ र ४ गते वडा अधिवेशनबाट हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend