जन आकाश
काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नवनियुक्त अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले मिर्गौला फेल भएर आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी नुवाकोटको विदुर नगरपालिका–३ की २४ वर्षीया विनिता माझीको निःशुल्क उपचारसहित मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन्।
स्नातक तहमा अध्ययनरत माझी आर्थिक अवस्था कमजोर भएका कारण साथीहरूको सहयोगमा पछिल्लो १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिइन्। उपचारलाई निरन्तरता दिन आर्थिक समस्या भएपछि उनकी साथी दामु शेर्पाले नेपाल विद्यार्थी संघकी राष्ट्रिय अध्यक्ष करुणा कटुवाललाई जानकारी गराएकी थिइन्।
कटुवालले माझीको उपचारका लागि सहयोगको आग्रह गरेपछि डा. शर्माले तीजको दिन उनलाई त्रिवि शिक्षण अस्पतालबाट काठमाडौं मेडिकल कलेजमा ल्याई निःशुल्क उपचार गर्ने र आवश्यक परे मिर्गौला प्रत्यारोपणसमेत गरिदिने घोषणा गरेका हुन्।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेकी माझीलाई उपचारको जिम्मा लिएर डा. शर्माले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend