जन आकाश
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाका सबै स्थानमा आफ्नो मोबाइल तथा इन्टरनेट सेवा पूर्णरूपमा सञ्चालनमा ल्याएको जनाएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। नेपाल टेलिकमले प्राविधिक टोलीलाई निरन्तर खटाएर मोबाइल सेवा प्रदान गर्ने आधारभूत केन्द्र पुनः सञ्चालनमा ल्याएको हो।
बाढीका कारण सडक तथा विद्युत् सेवा अवरुद्ध भएका स्थानमा सुरक्षा निकायसँग समन्वय गरी हेलिकोप्टरमार्फत प्राविधिक टोली, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गरेर सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ।
विद्युत् आपूर्ति नियमित नभएका स्थानमा जेनेरेटर प्रयोग गरी सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।
बाढीअघि रसुवा, नुवाकोट र धादिङमा नेपाल टेलिकमका १२० वटा सेवा केन्द्रमार्फत सेवा सञ्चालन हुँदै आएको थियो। बाढीका कारण तीमध्ये ८३ वटा सेवा केन्द्रको सेवा अवरुद्ध भएको थियो।
बाढीका कारण टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’का सेवा केन्द्र पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। ती स्थानमा आवश्यक मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत सेवा पुनः सञ्चालन गरिएको टेलिकमले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend