जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे। उनले बाढी तथा विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण उत्पन्न विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए।
प्रधानमन्त्रीले नेपालको पर्यटन क्षेत्रको सम्भावना र विकासबारे चर्चा गर्दै नेपालमा अमेरिकी लगानीलाई स्वागत गर्ने बताएका छन्।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरिन्।
उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिका तयार रहेको जानकारी दिइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend