logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

अस्पतालबाहिर सुत्केरी भएको घटनाको छानबिन प्रतिवेदन मन्त्रालयमा बुझाइयो


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिर सुत्केरी महिलाले शिशु जन्माउनुपरेको घटनाको छानबिन प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुझाइएको छ।



नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित समितिले स्थलगत अध्ययनपछि बुधबार प्रतिवेदन बुझाएको हो।

समितिले भदौ २५ देखि २७ गतेसम्म अस्पतालको निरीक्षण गरी घटनासँग सम्बन्धित तथ्य तथा प्रमाण, सेवा प्रवाह र स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनको भूमिकाबारे अध्ययन गरेको थियो।

प्रतिवेदनमा चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीबाट आचारसंहिता उल्लंघन भएको देखिएका विषयमा आवश्यक कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाउन सुझाव दिइएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, अस्पतालको कर्मचारी व्यवस्थापन अव्यवस्थित रहेको औँल्याउँदै ८० जना अस्थायी दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाइएको छ। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने जनाइएको छ।

मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरेका सात चिकित्सकलाई दुई वर्षका लागि अस्पतालमा पठाएको जनाएको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सेवा प्रवाह, जनशक्ति व्यवस्थापन र अस्पताल प्रशासनलाई थप व्यवस्थित बनाउने मन्त्रालयको प्रतिबद्धता छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend