जन आकाश
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संकटको समयमा कालोबजारी र मूल्यवृद्धि बढ्दा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले विपद्को आडमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाइएको बताए।
उनका अनुसार चामलको मूल्य प्रतिबोरा २७ सय रुपैयाँ, सूर्यमुखी तेल ३००, तोरीको तेल ४५० र चिनीको मूल्य १४० रुपैयाँसम्म पुगेको छ। उनले काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग भए पनि आपूर्ति आधाभन्दा कम रहेको बताए।
ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने तर कालोबजारीमा सहजै ग्यास पाइने अवस्था देखिनु राज्यको उपस्थितिमाथि गम्भीर प्रश्न भएको केसीको भनाइ छ।
उनले विपद्का बेला नागरिकको चुलो बल्ने अवस्था सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भए पनि अनुगमन निकाय निष्क्रिय देखिनु गैरजिम्मेवारी भएको बताए। २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने व्यवस्था व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend