logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

अधिवेशन स्थगित गरेर निर्णायक वार्ता गर्न गगन थापालाई पूर्णबहादुर खड्काको आग्रह


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरेर निर्णायक वार्ता र संवाद अघि बढाउन सभापति गगन थापालाई आग्रह गरेका छन्।



खड्काले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि सार्न आग्रह गरेका हुन्।

उनले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र अग्रज नेताहरूसँग गगन थापाले आफ्नै अग्रसरतामा तत्काल वार्ता र संवाद सुरु गर्नुपर्ने बताएका छन्। यसो गरे पार्टीको एकता अझै सम्भव रहेको उनको विश्वास छ।

खड्काले दुईवटा अलग–अलग महाधिवेशनको अवस्था रोक्न नसके कांग्रेस विभाजनतर्फ जाने दाबीसमेत गरेका छन्। उनले विगतका घटनाक्रम र राजनीतिक गतिविधिले देशमा थप जटिल परिस्थिति सिर्जना हुन सक्ने भन्दै राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र स्वाभिमानप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले गगन थापालाई विगतका घटनाक्रम र प्राप्त सुझावलाई गम्भीर रूपमा समीक्षा गर्दै निर्णायक कदम चाल्न आग्रह गरेका छन्। साथै, पार्टीको सम्पूर्ण एकता कायम गर्न आफू कुनै व्यक्तिगत महत्त्वाकांक्षाबाट मुक्त भएर सहयोग र आवश्यक त्याग गर्न तयार रहेको खड्काले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend