logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बागमती प्रदेशमा १४४ कर्मचारी दरबन्दी घटाइयो


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश संरचनाअन्तर्गतका कर्मचारी दरबन्दी पुनरवलोकन गर्दै १४४ पद घटाउने निर्णय गरेको छ।



प्रदेश मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले प्रदेशका ८ मन्त्रालय तथा मातहतका कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गर्दै नयाँ संगठन संरचना पारित गरेको हो।

नयाँ संरचनाअनुसार प्रदेशभरका कार्यालयको संख्या १८० कायम गरिएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले जानकारी दिए।

यसअघि प्रदेश सरकारअन्तर्गत ४ हजार ८१४ कर्मचारी दरबन्दी रहेकोमा १४४ पद घटाएर अब ४ हजार ६८० कायम गरिएको छ।

यद्यपि, आवश्यकताका आधारमा केही क्षेत्रमा अस्थायी जनशक्ति थप गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।

सदस्य सचिव र कार्यालय सहयोगीसहितको उक्त टोलीले समस्याग्रस्त सहकारी व्यवस्थापनको काम गर्नेछ। सम्बन्धित काम सम्पन्न भएपछि उक्त अस्थायी दरबन्दी स्वतः समाप्त हुने मन्त्री केसीले बताए।

त्यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका सरसफाइ डिभिजनमा ९० जना अस्थायी कर्मचारी राख्ने बाटोसमेत मन्त्रिपरिषद्ले खुला गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend