जन आकाश
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–ख्योङले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनर्स्थापना तथा राहत सहयोगका विषयमा छलफल भएको थियो। साथै सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ।
मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीका कारण सिर्जित विपद्को कठिन समयमा कोरियाबाट प्राप्त सहयोग र सहानुभूतिप्रति आभार व्यक्त गरे। उद्धार तथा खोजी कार्यमा कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकोमा धन्यवाद दिँदै उनले बाढी प्रभावितको राहत, पुनर्निर्माण र पुनर्स्थापनामा कोरियाली सरकारको प्रतिबद्धताका लागि कृतज्ञता व्यक्त गरे।
उनले नेपाल र कोरियाबीच पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा जोड दिए।
राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्स्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताए। उनले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे समेत चासो व्यक्त गरे।
राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ भने माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका ९ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन छन्।
भेटमा राजदूत पार्कले आगामी असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने **‘१२औँ ग्लोबल आईसीटी लिडरसिप फोरम’**मा नेपाललगायत विभिन्न देशको सहभागिताबारे पनि जानकारी गराएका थिए। दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा हुने फोरममा सूचना प्रविधि र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य तथा आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुने जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend