logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

१५ वर्षदेखि रुग्ण कमला नदी पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार मन्त्रालयका अनुसार अबको दुई महिनाभित्र पुल औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ।



ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण लामो समयदेखि निर्माण प्रभावित भएको थियो। अहिले नदीमा भाँचिएको १० नम्बर पिलर उठाउने काम सम्पन्न भएको छ भने सब–स्ट्रक्चरको ढलान कार्यसमेत सकिएको मन्त्रालयले जनाएको छ।

पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम पनि सम्पन्न भइसकेको छ। अब सुपर–स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको छ। आगामी साता नदीमा पानीको सतह घटेपछि उक्त कामसमेत सम्पन्न गर्ने तयारी छ।

धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि गरिएको माटो भराइ वर्षाको पानीले बगाएर क्षति पुगेको छ। नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ। सिराहातर्फको पहुँच सडकमा भने माटो भर्ने काम सम्पन्न भइसकेको छ।

२०६८ सालमा पप्पु–लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो। २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो। अहिले निर्माण कार्य तीव्र पारिएसँगै लामो समयदेखि प्रतीक्षामा रहेको पुल सञ्चालनमा आउने चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend