जन आकाश
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीलाई अर्ग्यानिक कृषि उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउने अभियानमा सरकार अघि बढिरहेको बताएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा विवरण सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कृषि क्षेत्रलाई प्रदेशको आत्मनिर्भरताको प्रमुख आधारका रूपमा विकास गर्न लागिएको बताए।
कर्णालीको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले अर्ग्यानिक उत्पादन बढाउँदै आधुनिक र व्यावसायिक खेती प्रणालीलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।
उनले निर्वाहमुखी कृषि प्रणालीमा सुधार गरी आधुनिक तथा व्यावसायिक खेती अवलम्बन गर्नुपर्नेमा जोड दिँदै कर्णालीलाई विषादीमुक्त बनाउने र जैविक मलको प्रयोगमा किसानलाई प्रोत्साहित गर्ने वातावरण सरकारले निर्माण गर्ने बताए।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईंले कृषि क्षेत्रको व्यावसायिक विकास र दिगोपनालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको जानकारी दिए। प्रदेश सरकारले विभिन्न कृषि उत्पादनमा लगाउँदै आएको कर यस वर्षदेखि खारेज गरिएको उनले बताए।
प्रमुख सचिव राधिका अर्यालले अघिल्ला वर्षको तुलनामा वित्तीय प्रगति बढाउन र बेरुजु घटाउन कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतका कर्मचारीलाई निर्देशन दिइन्। मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा विनियोजित २ अर्ब ५७ करोड ११ लाख रुपैयाँमध्ये १ अर्ब ४७ करोड ७५ हजार रुपैयाँ अर्थात् ५७ प्रतिशत वित्तीय प्रगति भएको छ।
त्यस्तै, कर्णालीबाट गत आर्थिक वर्षमा ३ अर्ब ६४ करोड ६ लाख रुपैयाँ बराबरको कृषिजन्य उपज अन्य जिल्लामा निर्यात भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा कार्कीले जानकारी दिए।
उनका अनुसार खाद्यान्न, दलहन, फलफूल, अदुवा, बेसार, आलु, मह र च्याउलगायत ७७ हजार ४९५ मेट्रिक टन कृषि वस्तु उत्पादन भएको छ। पशुजन्य उपज निर्यातबाट २८ करोड ७३ लाख रुपैयाँ आम्दानी भएको छ भने दूध, मासु, माछा, अण्डा र दानालगायत पशुजन्य वस्तु आयातमा ९५ करोड ११ लाख रुपैयाँ बाहिरिएको छ।
मन्त्रालयले व्यावसायिक फलफूल बगैँचा स्थापना कार्यक्रममार्फत ८८ हजार बिरुवा वितरण गरी करिब ३०० हेक्टर क्षेत्रफल विस्तार गरेको जनाएको छ। उक्त कार्यक्रमबाट ४५ भन्दा बढी कृषक समूह र २ हजार १५० घरधुरी लाभान्वित भएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend