logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रदेश र स्थानीय तहलाई संविधानले दिएको अधिकार पूर्णरूपमा हस्तान्तरण गर्न संघीय सरकारलाई मुख्यमन्त्री आचार्यको आग्रह


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार पूर्णरूपमा कार्यान्वयन हुने गरी अधिकार हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।



संविधान दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा शुक्रबार बिहान आयोजित सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले संविधानले निर्दिष्ट गरेका अधिकार अझै प्रदेश र स्थानीय तहले पूर्णरूपमा कार्यान्वयन गर्न नपाएको बताए।

उनले संविधानमा व्यवस्था भएका अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताए।

संविधान दिवसका अवसरमा प्रदेश सरकारले दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णयअनुसार प्रशासनिक परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो। परिसरलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रदेश सरकारले जनाएको छ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने गरी सरसफाइ, सुधार तथा संरक्षणको काम अघि बढाइएको बताए।

उनका अनुसार प्रशासनिक परिसरलाई २३ वटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा सरसफाइ केन्द्र तोकिएको छ। सरसफाइ अभियानपछि परिसरमा फलफूलका बिरुवा रोप्ने तथा तिनको संरक्षणलाई समेत अभियानका रूपमा अघि बढाइनेछ।

परिसरको सरसफाइ, सुधार तथा संरक्षणको अवस्थाको मूल्यांकन गर्न प्रदेश योजना आयोगका सचिवको नेतृत्वमा मूल्यांकन टोली गठन गरिएको प्रमुख सचिव कुँवरले जानकारी दिए। मूल्यांकनका आधारमा उत्कृष्ट काम गर्ने क्षेत्रलाई पुरस्कृत गर्ने योजना रहेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend