जन आकाश
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र शिक्षकको उत्तरदायित्व सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभामा सांसद रुक्मिणी कोइरालाको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विद्यालय शिक्षा क्षेत्र योजना र राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी दिए।
उनका अनुसार भूकम्पबाट क्षतिग्रस्त जाजरकोट, रुकुम पश्चिम र बझाङका विद्यालय पुनर्निर्माण भइरहेको छ भने चेपाङ विद्यार्थीका लागि आवासीय विद्यालय निर्माणको काम अघि बढाइएको छ।
यस्तै, शिक्षकको पेसागत विकास तालिम, विद्यार्थी आदानप्रदान, प्राविधिक सहायता, अनलाइन तथा टेलिभिजनमार्फत शिक्षण कार्यक्रम र राष्ट्रिय विद्यार्थी उपलब्धि परीक्षण सञ्चालन भइरहेको उनले बताए।
स्थानीय तहबाट दिवा खाजा, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक तथा स्यानिटरी प्याड, शिक्षण सहयोग अनुदान र विद्यालय पूर्वाधार विकासलगायतका कार्यक्रम सञ्चालन भइरहेको मन्त्री पोखरेलले जानकारी दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend