logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

संघीयता सुदृढ गर्न सरकार असफल भयो : जसपा सांसद खालिद


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद मोहम्मद खालिदले संविधान जारी भएपछि बनेका अधिकांश सरकारले संघीयतालाई सुदृढ गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।



शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै खालिदले मधेसी, मुस्लिम तथा पिछडिएको वर्गका जनताका अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको बताए। उनले प्रहरी समायोजन, प्रशासनिक संरचना हस्तान्तरण र आवश्यक कानुन निर्माणमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

तराई–मधेसमा हुलाकी सडक र कमला पुल निर्माणमा भइरहेको ढिलाइले विकासप्रतिको उदासीनता देखाएको उनको भनाइ थियो। उनले निर्वाचन क्षेत्र निर्धारणमा जनसंख्या र भूगोललाई आधार बनाई समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे।

राजदूत नियुक्तिमा मधेसी, मुस्लिम र पिछडिएको वर्गको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै खालिदले संविधान कार्यान्वयन, मधेस विकास र सामाजिक न्यायका विषयमा सरकारसँग ठोस कदम चाल्न आग्रह गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend