जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अवस्था अन्तिम डिलमा पुगेको बताएका छन्। उनले सर्वोच्च अदालतमा विचाराधीन कांग्रेससम्बन्धी पुनरावलोकनको मुद्दालाई अग्राधिकार दिएर यथाशीघ्र टुंगो लगाउन आग्रह गरेका छन्।
गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला खड्काले आफू महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी नरहेको स्पष्ट पारेका छन्। अदालतमा कांग्रेस विवादसम्बन्धी मुद्दा विचाराधीन रहेकाले आफू महाधिवेशनमा सहभागी नभएको उनको भनाइ छ।
खड्काले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ।’ सम्भावित विभाजन रोक्न आफूहरू अझै अन्तिम प्रयासमा रहेको पनि उनले बताएका छन्।
उनका अनुसार विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतासम्बन्धी दाबी गर्दै आफूहरू सर्वोच्च अदालत पुगेका थिए। डिभिजन बेन्चको निर्णयविरुद्ध पुनरावलोकनका लागि निवेदन दिइएको र सर्वोच्चको पूर्ण इजलासले मुद्दा पुनरावलोकनका लागि निस्सा दिएको उनको भनाइ छ।
यही मुद्दा विचाराधीन रहेको अवस्थामा गगन थापा नेतृत्वमा महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नभएको भन्दै आफू सहभागी नभएको खड्काले बताएका छन्।
खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई परिस्थितिको गम्भीरता मूल्यांकन गर्दै विचाराधीन पुनरावलोकनको मुद्दालाई अग्राधिकार दिएर यथाशीघ्र अन्तिम फैसला गर्न आग्रह गरेका छन्। सर्वोच्च अदालतको अन्तिम फैसला आफूहरूका लागि स्वीकार्य हुने पनि उनले स्पष्ट पारेका छन्।
कांग्रेसभित्र दुईवटा छुट्टाछुट्टै महाधिवेशनको अवस्था बनेको भन्दै खड्काले यसले पार्टी विभाजनको जोखिम बढाएको बताएका छन्। यसअघि पनि उनले अलग–अलग महाधिवेशन अघि बढे पार्टी विभाजन रोक्न कठिन हुने बताएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend