logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

१४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुँदै


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपालबाट १४ सदस्यीय प्रतिनिधिमण्डल अमेरिका जाने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सत्रमा सहभागिता जनाउनेछन्।



प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा न्युयोर्क प्रस्थान गर्ने र सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन्।

यसअघि परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली टोली आइतबार नै न्युयोर्क प्रस्थान गर्नेछ। खनालले महासभाअन्तर्गतका उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् भने विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार ८१औँ महासभाको उच्चस्तरीय सप्ताह तथा महासभाको सामान्य बहस सेप्टेम्बर २२ देखि २६ र सेप्टेम्बर २८ मा हुनेछ।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपालले जलवायु परिवर्तन तथा त्यसबाट नेपालमा परिरहेको प्रभावलगायत विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेको छ।

प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा नेपाल फर्किने तथा परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend