जन आकाश
काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने भएको छ। संविधान दिवसको अवसर पारेर शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको हो।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा ७ वटा बसमार्फत रात्रिकालीन सेवा सञ्चालन हुँदै आएको थियो। अब उक्त सेवा थप रुटमा विस्तार गर्न लागिएको हो।
शनिबारदेखि बुढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेलमा ६ वटा, त्रिभुवन विमानस्थल–नागढुंगा रुटमा ४ वटा, कीर्तिपुर–जमलमा ४ वटा तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन्।
यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा क्रमशः ४ र ३ वटा बस सञ्चालन हुने जनाइएको छ।
कम्पनीका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन्। यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समय समायोजन गरिनेछ।
रात्रिकालीन सेवाको विस्तारबाट अबेरसम्म काम गर्ने कर्मचारी, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। विद्युतीय बस सञ्चालन भएकाले वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने कम्पनीको विश्वास छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend