logo आइतबार, असोज ४ २०८३ | Sunday 20th September 2026

पर्यटकलाई सञ्चार सेवा सहज बनाउन एनसेल र नाटोबीच साझेदारी


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारी गरेको छ। नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच समझदारी भएको हो।



नेपाल पर्यटन बोर्डको आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

साझेदारीअन्तर्गत एनसेलले पर्यटकलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले देशभर रहेका आफ्ना ट्राभल अपरेटरको सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा तथा सुविधाबारे जानकारी उपलब्ध गराउनेछ।

एनसेलका अनुसार सहकार्यले नेपाल आउने पर्यटकलाई यात्रा अवधिभर परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सम्पर्कमा रहन सहज बनाउनेछ। साथै, ‘नेपाल कलिङ’ अभियान प्रवर्द्धन गर्दै नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गमा आधुनिक वास (WASH) पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ।

यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ। परियोजनाले राजमार्गमा यात्रा गर्ने पर्यटक तथा स्थानीय समुदायलाई सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend