logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मोतिराज खनाललाई ‘सर्वोत्कृष्ट भजन गायक’को अवार्ड


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले तेस्रो राष्ट्रिय ओप्सना फिल्म्स एन्ड म्युजिक अवार्ड–२०८३ अन्तर्गत ‘सर्वोत्कृष्ट भजन गायक’को अवार्ड प्राप्त गरेका छन्।



ओप्सना फिल्म्सको आयोजनामा सम्पन्न अवार्ड समारोहमा गीत, संगीत तथा चलचित्र क्षेत्रका विभिन्न विधामा उत्कृष्ट कलाकार तथा सर्जकलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। ‘संगीत नै हो हाम्रो नाम, संगीत नै हो हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित कार्यक्रममा २४ विधामा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

भजन तथा लोकसंगीतमा निरन्तर सक्रिय खनालले अवार्डलाई आफ्नो संगीत यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। अवार्ड प्राप्त गरेपछि उनले यो सफलता आफूलाई माया, साथ र हौसला दिने दर्शक तथा श्रोताको साझा उपलब्धि भएको बताएका छन्।

खनालले आयोजक, निर्णायक मण्डल, शुभचिन्तक तथा संगीतप्रेमीप्रति आभार व्यक्त गरेका छन्। उनले यसअघि पनि विभिन्न राष्ट्रिय म्युजिक अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन्।

समारोहमा गायक दीपक खरेल र गीतकार बुद्धवीर लामालाई ‘जीवन साधना सम्मान’ प्रदान गरिएको थियो। त्यस्तै, आनन्द कार्की र प्रदीपराज पाण्डेले ‘विशिष्ट गायन रत्न सम्मान’ प्राप्त गरेका थिए।

अवार्डतर्फ ‘यो देशले तिम्रो’ सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत घोषित भयो। तपस्या राईले सर्वोत्कृष्ट पप गायिका, सोम गुरुङले सर्वोत्कृष्ट लोक गायक तथा सुरेश राईले सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरे। जनमततर्फ बबिना किराँती र सुमन राई उत्कृष्ट युगल गायक घोषित भए।

लोक तथा भजन संगीतमा निरन्तर सक्रिय खनालले आगामी दिनमा पनि मौलिक लोकसंगीत, भजन तथा नेपाली सांगीतिक सिर्जनालाई निरन्तरता दिने बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend