जन आकाश
काठमाडौं । सिरहाको लहानस्थित एक निजी विद्यालयका ११ वर्षीय विद्यार्थीमाथि मरणासन्न हुनेगरी कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।
लहान–४ स्थित इन्द्रेणी स्कुल प्रालिको छात्रावासबाट भागेको भन्दै शिक्षकले विद्यार्थीलाई कुटपिट गरेको उनका बुवाले आरोप लगाएका छन्। सप्तरीको बलानविहुल–४ का ती विद्यार्थी विद्यालयको छात्रावासमा बस्दै आएका थिए।
विद्यालयका संस्थापक देवेन्द्र साहले विद्यार्थी पटक–पटक छात्रावासबाट भाग्ने गरेको र पछिल्लो पटक प्रहरीले फेला पारेपछि विद्यालयलाई समेत दुःख दिएको बताए। उनका अनुसार विद्यार्थीलाई बुवासँग सम्पर्क गरी घरबाट ल्याएपछि ‘तर्साउन’ एक–दुई लट्ठीले कुटिएको हो।
तर, विद्यार्थीका अभिभावकले भने बालकलाई निर्घात कुटपिट गर्नुका साथै बाँधेर राखिएको आरोप लगाएका छन्। विद्यार्थीले पनि आफूलाई बाँधेर घोप्टो पारी फलामे छड र प्लास्टिकको पाइपले कुटेको बताएका छन्।
कुटपिटपछि बालकलाई परिवारले घर लगेर उपचार गराइरहेको छ।अधिकारकर्मीहरूले सिरहाका केही निजी विद्यालयमा अनुशासनका नाममा विद्यार्थीमाथि कुटपिट तथा यातना दिने घटना हुने गरेको बताएका छन्। यस्ता घटनामा सम्बन्धित निकायको प्रभावकारी निगरानी र कारबाही आवश्यक रहेको उनीहरूको भनाइ छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend