logo आइतबार, असोज ४ २०८३ | Sunday 20th September 2026

अर्थमन्त्रालयमा ३ सहसचिवको सरूवा


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । अर्थ मन्त्रालयमा दुई सहसचिव फर्किएका छन् भने एक नयाँ सहसचिव थपिएका छन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेसँगै नारायणप्रसाद रिसाल, गोकुल बाँस्तोला र बन्धुप्रसाद बाँस्तोला अर्थ मन्त्रालयमा आएका हुन्।



रिसाल कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संघीय सरकारको अर्थ मन्त्रालयमा सरुवा भएका हुन्। उनले यसअघि पनि अर्थ मन्त्रालयमा सहसचिवका रूपमा काम गरिसकेका छन्।

२०८० माघमा गृह मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका रिसालले त्यहाँ विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। त्यसपछि २०८१ माघमा उनलाई अर्थबाट गृह मन्त्रालयमा सरुवा गरिएको थियो।

गोकुल बाँस्तोला पनि अर्थसम्बन्धी कामको अनुभव भएका कर्मचारी हुन्। उनले लेखा समूहका उपसचिवका रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा काम गरिसकेका छन्। सहसचिवमा बढुवा भएपछि उनी लोक सेवा आयोगको धनकुटा कार्यालय प्रमुखका रूपमा कार्यरत थिए।

त्यस्तै, बन्धुप्रसाद बाँस्तोला गृह प्रशासनमा लामो समय काम गरेका सहसचिव हुन्। उनी २०७८ चैत १८ देखि २०७९ फागुन १९ सम्म बर्दियाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए।

त्यसपछि गृह प्रशासनमै विभिन्न जिम्मेवारी सम्हालेका बाँस्तोला २०८१ माघमा झापाको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा सरुवा भएका थिए। हाल लुम्बिनी प्रदेशको अर्थ मन्त्रालयमा कार्यरत रहेका उनलाई संघीय सरकारको अर्थ मन्त्रालयमा सरुवा गरिएको हो। बन्धुप्रसाद बाँस्तोलाले सहसचिव भएपछि संघीय सरकारको अर्थ मन्त्रालयमा भने यसअघि काम गरेका थिएनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend